निर्देशक नितेश तिवारीले आफ्नो ठूलो बजेटको फिल्म ‘रामायण’को छायांकन केही महिनामा सुरु गर्दैछन् । रणवीर कपुरको शीर्ष भूमिका रहने फिल्ममा साई पल्लवीको पनि मुख्य भूमिका हुनेछ । फिल्ममा साउथ सुपरस्टार यश रावणको भूमिकामा देखिंदैछन् ।

बलिउड सञ्चारमाध्यमका अनुसार यो फिल्ममा हनुमानको भूमिकामा सन्नी देओलले अभिनय गर्ने जनाइएको छ । फिल्मसँग सम्बन्धित स्रोतका अनुसार उक्त भूमिका निर्वाह गर्न देओल सहमत छन् । उनी हनुमानको भूमिका निर्वाह गर्न उत्साहित समेत देखिएका छन् । आगामी मे महिनादेखि सन्नीले यस फिल्मको पहिलो भागको सुटिङ सुरु गर्ने चर्चा छ । फिल्मको पहिलो भागमा सन्नीले अतिथि भूमिकामा मात्रै देखिने भएपनि दोस्रो र तेस्रो भागमा उनको पूर्ण उपस्थिति रहनेछ ।

यसअघि पनि विभीषणको भूमिकाका लागि साउथ सुपरस्टार विजय सेतुपतिसँग निर्माताले छलफल गरिरहेको सुनिएको थियो । फिल्ममा कैकेयीको भूमिकामा लारा दत्तलाई छनोट गरिएको छ । यो फिल्ममा सन्नीका भाइ बबी देओल कुम्भकरणको भूमिकामा देखिने चर्चा पनि थियो । तर पछि बबीको टोलीले यसको खण्डन गरेको थियो ।तीन श्रृंखलामा बन्ने यो फिल्मका प्रत्येक भागको रनटाइम तीन घण्टाको हुने जनाइएको छ । यसको बजेट ५०० करोड भारु भनिएको छ । यो फिल्म हिन्दीसहित तमिल र तेलुगू भाषामा पनि बन्नेछ । यसको भीएफएक्समा ओस्कार विजेता कम्पनी डीएनईजीले काम गर्ने जनाइएको छ ।नितिशले आगामी मार्चबाट ‘रामायण’को छायांकन सुरु गर्ने जनाइएको छ । निर्माताले यसको पहिलो भाग सन् २०२५ मा रिलिज गर्ने योजना बनाएका छन् ।सन्नीले गत वर्ष ‘गदर २’ जस्ता हिट फिल्म दिएका छन् । उनी अहिले आगामी फिल्म ‘लाहोर १९४७’ मा व्यस्त छन् । यस फिल्ममा सन्नीसँग प्रीति जिन्टा देखिने चर्चा छ । प्रीति आफ्नो लुक टेस्टका लागि स्टुडियो पुगेकी थिइन् । यदि फिल्ममा उनको कास्टिङ तय भएमा उनी ६ वर्षपछि बलिउडमा पुनरागमन गर्नेछिन् ।प्रीतिको पछिल्लो फिल्म ‘भैयाजी सुपरहिट’ सन् २०१८ मा रिलिज भएको थियो । यसमा उनी सन्नीको अपोजिट देखिएकी थिइन् ।