त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रु आगमन कक्षको सुरक्षा जाँचमा सशस्त्र प्रहरी परिचालन गरिएपछि नेपाल प्रहरी असन्तुष्ट बनेको छ ।यसअघि निजी कम्पनीका सुरक्षाकर्मी भाडामा लिएर विमानस्थल सुरक्षा जाँच हुँदै आएको थियो ।

गृह मन्त्रालयले गत सोमबारबाट निजी सुरक्षाकर्मी हटाएर भन्सार सुरक्षा जाँच जिम्मा सशस्त्र प्रहरीलाई दिएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयकै कमान्डमा हुने गरी अन्तर्राष्ट्रिय टर्मिनल आगमन कक्षमा ३० सशस्त्र प्रहरी परिचालन गरिएको छ ।सुरक्षा जाँच थप प्रभावकारी बनाउन भन्सार प्रमुखकै कमान्ड हुने गरी सशस्त्र प्रहरी परिचालन गरिएको भन्सार विभाग महानिर्देशक शोभाकान्त पौडेलले बताए ।

‘भन्सार तथा सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई यसअघि नै दिइएको हो, तर काठमाडौं विमानस्थल भन्सारमा हालसम्म सशस्त्र प्रहरी परिचालन भएको थिएन,’ महानिर्देशक पौडेलले अनलाइनखबरसँग भने, ‘अब सशस्त्रले नै सुरक्षा हेर्ने प्रबन्ध मिलाइएको छ । त्यसको कमान्ड भने भन्सार प्रशासनमा नै हुन्छ ।’विमानस्थल सुरक्षामा निजी कम्पनी परिचालन गर्दा धेरै कमजोरी देखिएको र सुनलगायत सामान तस्करी नियन्त्रण पनि प्रभावकारी नभएको निष्कर्षसहित सशस्त्र परिचालन गरिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

‘त्रिभुवन विमानस्थल भन्सारमा प्रहरीको उपस्थिति थिएन, त्यसो हुँदा अर्थ मन्त्रालयले सशस्त्र प्रहरी खटाइदिनू भनेकाले त्यहीअनुसार गरिएको हो,’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘विमानस्थल सुरक्षामा नेपाल प्रहरी पहिलेदेखि नै परिचालित भएकाले दुई सुरक्षा निकायको समन्वयमा राम्रो काम हुने अपेक्षा छ ।’

आफूले खोजेको भूमिका सशस्त्रलाई दिइएकोमा प्रहरीको असन्तुष्टि

त्रिभुवन विमानस्थल भन्सार जाँचपास कक्षबाट समेत बाहिरिइसकेको ६१ किलो सुन सडकबाट राजस्व अनुसन्धान विभागले बरामद गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सारमा प्रहरी परिचालन गर्न लबिइङ गरिरहेका थिए ।

सुन प्रकरण सार्वजनिक भएपछि ५ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर गृहमन्त्री श्रेष्ठले ‘भन्सार जाँचमात्र होइन, आगमन पछाडि नै प्रहरीको कुनै भूमिका नहुने र त्यसमा प्रहरीको भूमिका हुनुपर्ने’ बताएका थिए ।

गृहमन्त्रीले यस्तो बताइरहँदा भन्सार जाँचपासमा भूमिका पाउने अपेक्षा नेपाल प्रहरीको थियो । त्यसका लागि उसले लबिइङ पनि गरिरहेको थियो । तर, भन्सार प्रशासनका कर्मचारी भने नेपाल प्रहरीलाई त्यो जिम्मेवारी दिन तयार भएनन् । त्यसो हुँदा आगमन कक्षको सुरक्षा जाँच जिम्मा सशस्त्र प्रहरीलाई दिने निर्णय गृहमन्त्री श्रेष्ठले गरे ।

विमानस्थल सुरक्षा गर्न नेपाल प्रहरी डीआईजी नेतृत्वमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय नै छ । ‘विमानस्थल सुरक्षामा नेपाल प्रहरी संलग्न हुँदै आए पनि तस्करी मौलाएकाले सशस्त्रलाई नै ल्याउनुपर्ने हाम्रो माग थियो,’ अर्थ स्रोतले भन्यो, ‘त्यहीअनुसार गृहले निर्णय गरेको छ ।’