माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. गोविन्द केसी लगायत ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।सशस्त्र द्वन्द्व पीडितलाई न्याय र सबै नेपालीहरूको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राख्दै माइतीघरमा आन्दोलन गर्न पुगेका डा. केसी लगायतका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।मंसिर ५ गतेदेखि स्थानीय प्रशासनले माइतीघरलाई निषेधित क्षेत्र तोकेको थियो। प्रहरीले त्यसबारेमा डा. केसीलाई जानकारी गराउँदै आन्दोलन नगर्न भनेको थियो।तर, डा. केसीले माइतीघर निषेधित क्षेत्र नभएको बताउँदै अदालतको आदेश देखाउन भनेका थिए।  निषेधित क्षेत्रमा आन्दोलन गर्न गएकाले डा. केसीसहित ९ जनालाई  नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।